इटहरी । आज बैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि बैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गरिएको छ ।
लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेको इतिहास छ ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा बैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्व प्रसिद्धि पाएको कथन छ ।