इटहरी । पाँचथरको फिदिम–याङनाम–फालौट सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका १० नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा पिकअपमा सवार ५ जना घाइते भएका छन् । फालेलुङ ८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान बिहान ८ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा फालेलुङ ८ का ३० वर्षीय साजन केरुङ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा फालेलुङ ८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ ७ का धनकुमार रसाइली, याङबरक ५ की निर्मला केरुङ, फालेलुङ ८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।