इटहरी । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक व्यक्तिको मृत्यु भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका ३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको माछा मारेर घर फर्किने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन् ।