इटहरी । विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने भएको छ ।
गोलन्जोर गाउपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुपूर्व वडा कार्यालयबाट उमेर प्रमाणित अर्थात विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्थाको सुरुवात गरेको हो ।
सिन्धुलीको गोलन्जोर गाउपालिकाका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा बसेको बैठकले बालविवाह न्यूनीकरणका लागि विवाह पूर्व वडा कार्यालयबाट योग्यताको सिफारिस लिनुपर्ने निर्णय गरेको जनाएको छ ।
वालविवाह बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको गाउपालिकाका प्रवक्ता रेगनराज थापाले बताए ।
सो अनुसार उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरिएको समेत उनले जनाकारी दिए ।
नेपालको प्रचलित कानुनमा बिहेवारी बीसवर्ष पारी भन्ने गरिए पनि व्यवहारमा भने यो पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको र उमेर नपुग्दै विवाह गर्ने प्रचलन सिन्धुलीका ग्रामीण क्षेत्रमा अझै कायमै रहेको कारणले यो नियम लगाइएको गाउँपालिकाका अध्यक्ष बरालले जानकारी दिए ।