इटहरी । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै बिहीबार (आज) भएको कार्यक्रममा गायक दासले प्रस्तुति दिए ।
सोही कार्यक्रममा स्ववियुको निर्वाचनमा नेविसंघले नेतृत्व गरेको विद्यार्थी संगठनलाई जिताउन आह्वान गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले नेविसंघमा विचारको बहस हुने भएकाले जिताउनुपर्ने आह्वान गरे ।
इटहरीका नगर प्रमुख तथा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले आँफू पनि यही क्याम्पसमा ०५७ सालमा नेविसंघबाटै स्ववियु सभापति भएका कारण इटहरीको शैक्षिक गुणस्तर वृद्धि गर्न काम गरिरहेको बताए । उनले विचार र चेतनाको निर्माण गर्ने संगठन नेविसंघ रहेकाले जिताउन आह्वान गरे ।
कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपसभापति विकास केसीले विचार र परिवर्तनको लडाईमा नेविसंघले ठूलो योगदान पुयाएको स्मरण गरे । उनले जनता क्याम्पसमै अध्ययन गरेर गएकाहरू पार्टी र राजनीतिमा ठूलो ठाउँमा पुगेको र क्याम्पसको स्तरोन्नतिका निम्ति काम गरिरहेको बताए ।
स्ववियु निर्वाचनमा नैविस र समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा सहदेव काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेतृत्वको टिमलाई जिताउनुपर्ने आमन्त्रित अतिथिहरूले बताएका थिए ।
समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता रामचन्द्र राई, केन्द्रिय उपाध्यक्ष सन्जय राई, नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई, नेविसंघ जनता क्याम्पसका सचिव विनोद खड्का, स्ववियु सचिवका उम्मेदवार अर्जुन राई लगायतले बोलेका थिए भने सुमनबाबू बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।