‘गाई अनुदान कार्यक्रम’मा अनुगमन,७ कृषकको भुक्तानी रोकियो

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरणमा लापरबाही भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन सुरु गरेको छ ।

गाई वितरण मापदण्ड विपरित किसानहरुले आफ्नै घरको गाई देखाउँदै अनुदान रकम लिएको गुनासो र समाचार आउन थालेपछि नगरपालिकाले बुधबारदेखि अनुगमन सुरु गरेको हो ।

नगरपालिकाले अनुगमन गर्ने क्रममा मापदण्ड विपरित काम गर्ने ७ जना कृषकहरुको भुक्तानी समेत रोकेको प्रशासकीय प्रमुख मनु कुमार लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार सम्झौता गरेर बराहक्षेत्र वडा नम्बर १० का केशव महतरा, मानबहादुर कटुवाल, वडा नम्बर २ बस्ने हिरामाया राई र वडा नम्बर ७ बस्ने पवन बुढाथोकीले ब्याउन बाँकी रहेको गाई खरिद गरेका थिए भने वडा नम्बर २ का शान्ति कटुवाल र वडा नम्बर १० की सुसिला बस्नेत राउतले घरमै भएको गाई देखाएका थिए ।

त्यसै गरी वडा नम्बर २ का प्रेम कुमारी कटुवालले सानो लोकल गाई खरिद गरेको पाइएको छ । नगरपालिकाले भने अनुसार नभएको भन्दै उनीहरुको भुक्तानी रोकिएको लिम्बूले जानकारी दिए ।

बिचौलियाहरुको विगविगी रहेको विषयहरु आइरहेको हुँदा छड्के अनुगमन गर्दै मापदण्ड बिपरित भेटिएका कृषकहरुलाई भुक्तानी नदिने र अनुगमन कडाइ रूपमा लागिपरेको प्रशु शाखा प्रमुख बिमल अधिकारीले बताए । उनले अहिलेसम्म १ सय ७१ जना कृषकले गाई खरीद गरेको तथ्यांक रहेको जानकारी दिए । बुधबार अनुगमन टोलिले ८६ जना कृषकको घरमै गएर अनुगमन गरेको थियो जसमध्ये ७ जना कृषकले मापदण्ड बिपरित काम गरेको भेटिएको अधिकारीले बताए ।

बराहक्षेत्र वडा नम्बर ८ पुलाहाका शेरबहादुर खत्रीको गोठको गाईलाई अर्कै व्यक्तिले अनुदान लिने प्रकृया अगाडि बढेपछि विचौलिया काण्ड बाहिर आएको थियो ।

नगरपालिकाले २ सय २८ जनालाई गाई बितरण गर्ने छ । जसमा अहिलेसम्म १ सय ७१ जनाले गाई खरिद गरेर लिएको पशु शाखाले जानकारी दिएको छ ।

गाईले कम्तिमा ८ लिटर दूध दिने, जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने र सो वापत् नगरले ३५ हजार रुपैयाँ प्रति गाई प्रदान गरिने नगरले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here