रामधुनी । कोरोना महामारीको दोश्रो भेरियन्ट सुरु हुनसाथ जिल्ला प्रशासन कार्यालय सुनसरीले सबै स्थानीय तहलाई आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन निर्देशन दिए पनि रामधुनी नगरपालिकाले भने, अझै पनि सञ्चालनमा ल्याउन सकेको छैन ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै स्थानीय तहहरूलाई आइसोलेसन केन्द्र तयारी गरी सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सुनसरीमा इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, भोक्रहानरसिंंह, हरिनगर, बर्जू, देवानगञ्ज गाउँपालिका, वराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउँदा रामधुनी नगरपालिकाले भने अझै सम्म सञ्चालनमा ल्याउन नसकेको हो ।

कोही बिरामी नआउने भएकाले आइसोलेसन सेन्टर नबनाएको नगरपालिकाले गैरजिम्वेवारपूर्ण जवाफ दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले ३० बेडको क्वारेनटिन सञ्चालन गरेको तर क्वारेनटिनमा कोही पनि नआएको बताए । न्यौपानेको यो भनाइमा नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि कतिसम्म खेलबाड गरिरहेको प्रस्ट हुन्छ ।

महामारी कति बेला कस्तो रफ्तारमा फैलन्छ र त्यस्तो अवस्थामा पूर्व तयारी नहुनु निर्लज्जता साबित भएको जानकारहरू बताउँछन् । गत जेठ ५ गते नगरपालिकाले १० बेडको अक्सिजन, सिसिटिभीसहित रामधुनी ५ मा रहेको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरको तयारी अन्तिम चरणमा रहेको भन्दै तस्बिर सार्वजनिक गरेको २८ दिन बित्दा समेत सञ्चालनको तरखर नै छैन ।

नगरकी उपमेयर सविनाकुमारी चौधरीले भने नगरले आइसालेसेन सञ्चालन गर्न नसकेको स्वीकार गरेकी छिन् । उनले स्वास्थ्यकर्मी अभावको कारण देखाउँदै आफूहरूले आइसोलेसन सञ्चालनमा ल्याउन नसकेको बताइन् । अव यो वर्ष आइसोलेसन बन्दैन भन्ने प्रश्नमा उनले स्वास्थ्यकर्मी नभए पनि चाँडै बनाउने बत्ताइन् । उनले कोरोनाका बिरामीहरू घरमै बस्न थालेको बताइन् । घरमै बसेका २ सङ्क्रमितहरूलाई नगरपालिकाले २ वटा अक्सिजन सिलिन्डर सङ्क्रमितको घरमै उपलब्ध गराइसकेको उनको जवाफ छ ।

नगरले आइसोलेसन सेन्टर सञ्चालनमा ल्यउनकालागी गत जेठ ११ गते मेडिकल अधिकृत करार पदपूर्ति सम्बन्धी ७ दिने सूचना निकाल्यो, सूचना निकाले पछि कसैले आवेदन नदिएको भन्दै नगरपालिकाले फेरि मेडिकल अधिकृत करार पदपूर्ति सम्बन्धी सूचना भन्दै जेठ १८ गते अर्को सूचना निकाल्यो तर कसैले आवेदन दिएनन् । गत वर्ष कोरोनाका लागि २३ लाख २७ हजार ५ सय ४३ रुपैयाँ खर्च गर्दा यस वर्ष भने प्रशासनको निर्देशनलाई नै अटेर गरिदिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here