मन्त्रिपरिषद्मा व्यापक हेरफेर, को, के मन्त्री भए ?(नामसहित)

file photo

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रिहरुले शुक्रबार राति नै सपथ लिएका छन् ।

को, के मन्त्री भए ?
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरे । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भए ।

नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भए । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ लाई निरन्तरता दिइएको छ । अन्य मन्त्री विदा भए ।

जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएका छन् । अझै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य, वन तथा वातावरण र सामान्य प्रशासन मन्त्रालय मन्त्रीविहीन छ ।

श्रोतका अनुसार सकेसम्म एमालेको असन्तुष्ट समुहका नेतालाई फकाएर यी मन्त्रालयको जीम्मेवारी दिने तयारी छ । हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नने छन् ।

यता एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुले जोड पनि दिएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here