इटहरी । प्रदेश १ का तराइका तीनै जिल्लामा कडाइका साथ निषेधाज्ञा थप भएको छ । सुनसरी र झापामा गए राति देखि घर बाहिर निस्कन निषेध गरिएको छ । कोरोनाको महामारी दिनदिनै बढ्न थालेपछि प्रशासनले त्यस्तो निर्णय गरेको हो ।

सुनसरीमा १५ दिनका लागि जिल्ला ठप्प पार्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा पूर्ण रोक लगाउने समेत निर्णय गरेको हो ।

यस्तै जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र झापाको बैठकले पनि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण झन बढ्न थालेपछि थप कडाइ गर्ने उद्देश्यले त्यहाँ जेठ ७ गतेसम्म अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

यस्तै मोरङमा भने आइतबारबाट लागु हुनेगरि १० दिन निषेधाज्ञा थप गरिएको छ । त्यहाँ पनि निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here