उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन् । सोमबार आफ्नो टहरा निर्माण कार्य नगरपालिकाले रोकेको विषयमा जानकारी लिन जाँदा उर्लाबारी—५ का बिष्णुप्रसाद भण्डारीलाई मेयर फागो, उनका भतिज दुर्गा फागो, स्थानीय ड्राइभर भनिने दीपेन्द्र धिमाल लगायतको समुहले कुटपिट गरेको हो ।

भण्डारीको साथमा गएका उर्लाबारी—८ का नारायण बस्नेतलाई पनि मेयर फागोको समुहले मरणासन्न हुने गरी कुटपिट गरेको बताइएको छ । गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी त्यसको माग गर्न नगरपालिका पुगेका थिए ।

भण्डारीले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर ‘आफ्नो काममा किन अवरोध गरिएको’ भन्दै जानकारी मागेका थिए । घिमिरेले ‘यस विषयमा मेयरलाई नै बुझ्नु’ भनेर पन्छिएपछि मेयरको कार्यकक्षतर्फ लाग्दै गर्दा एक्कासी आफूहरूमाथि दुर्गा फागो र ड्राइभर धिमालले जथाभावी प्रहार गरेको पीडित बिष्णु भण्डारीले बताए ।यसपछि कुटपिटलाई नियन्त्रणमा लिनुको साटो मेयर फागोले आफैं जंगिएर भण्डारी र बस्नेतमाथि निरन्तर लात्ती प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गत पुस ४ गते उर्लाबारी—५ का प्रवीण बास्तोलाको रहस्यमय मृत्यु प्रकरणलाई साथ दिएको भन्दै मेयर फागोले छिमेकी समेत रहेको आफूसँग शत्रुता साँध्दै आएको भण्डारीको भनाई छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here