काठमाडाैं । केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ ।
दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक सिजन बाँकी नै छ, त्यो बेला अझ विकराल बन्न सक्छ । सचेत हुनैपर्छ ।’ उनका अनुसार वैशाख महिनामा डढेलोको जोखिम अझ बढी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको प्रि–मनसुनको अवधि अत्यन्तै सुक्खा हुने बताएको छ । सुक्खा बढेकै कारण डढेलोजन्य विपद् बढेको हो ।
आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ‘मध्यपहाडी क्षेत्रका वनमा डढेलो लागेकै देखिन्छ,’ शर्माले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूले तालिमप्राप्त जनशक्ति परिचालन गरेका छन् । बाराका डिभिजनल वन अधिकृत मन्जुर अहमदले डढेलो नियन्त्रणका लागि ‘कन्ट्रोल फायरिङ’ लाई जोड दिइएको बताए ।
‘डढेलोले जंगलमा रहेका काठ क्षति नगरोस् भनेर कन्ट्रोल फायरिङ पनि गरेका छौं ।’ डिभिजन वनले डढेलो र वन्यजन्तु तस्करी नियन्त्रणका लागि कर्मचारी परिचालन गरेको छ । तर पर्याप्त मात्रामा डढेलो निभाउने उपकरण अभावले अप्ठ्यारो ठाउँको डढेलो भने नियन्त्रण लिन नसकिएको अहमदले बताए ।
वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले नियन्त्रणमा लिन सकिने किसिमको डढेलो व्यवस्थापनका लागि सबै डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराइएको बताए । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । संघीयतापछि निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेकको वन प्रदेशअन्तर्गतका वन मन्त्रालयमातहत व्यवस्थापन हुने गरेको छ । यसैबीच गत शुक्रबारदेखि देशका विभिन्न भागमा लागेको तुवाँलो चौथो दिन केही घटेको छ । सौराहाबाहेक काठमाडौं बाहिरका जिल्लाहरूमा तुवाँलो घटेपछि आन्तरिक हवाई उडान सहज भएको छ ।
प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्यापर्साको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । पर्सा राष्ट्रिय निकुञ्जको विभिन्न भागमा लागेको डढेलो नियन्त्रणमा लिइसकिएको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए । उनका अनुसार निकुञ्जको दक्षिणी भेग तथा मकवानपुरका विभिन्न स्थान, निकुञ्ज कार्यालयदेखि त्रिभुवन राजपथपूर्व बाराको वन क्षेत्र र मकवानपुरतर्फ चुरियामाई मन्दिर आसपास निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि डढेलो लागेको थियो ।
पर्सामा निकुञ्जको आधाभार, महादेव क्षेत्रमा पनि डढेलो लागेकोमा नियन्त्रणमा आइसकेको पुनले दाबी गरे । ‘डढेलो नियन्त्रण गर्न निकुञ्जकर्मी र नेपाली सेनाको संयुक्त टोलीले सक्दो प्रयास गर्यो,’ उनले भने, ‘कतिपय स्थानमा दमकल प्रयोग गरेरै आगो निभाइयो, फायरलाइन बनाएर पनि आगो नियन्त्रणमा लियौं ।’ निकुञ्जलाई विभिन्न स्थानमा सडक तथा राजमार्गले घेरेको हुनाले बर्सेनि डढेलो लाग्ने गरेको उनले बताए ।
डढेलो साताअघि नियन्त्रणमा लिइसकिएको बताए । ‘पर्सागढी नगरपालिको बडनिहार क्षेत्रमा लागेको डढेलो तथा रंगपुर टाँडीको भतौडा वन क्षेत्रमा लागेको डढेलो आफ्नै जनशक्ति प्रयोग गरेर नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने, ‘वसन्तपुरमा गत साता मात्रै सरोकारवालाको अन्तर्क्रिया गरी डढेलो नियन्त्रणका लागि अपनाइने उपायबारे जानकारी गराएका थियौं ।’ सौराहामा मंगलबार २४ घण्टाको एक्यूआई ३ सय २४ रह्यो भने काठमाडौं र अन्य सहरमा तीन सयभन्दा कम भएको प्राविधिकहरूले बताएका छन् ।
डिभिजन वन कार्यालयका अनुसार पाल्पाका ४७ सामुदायिक वनमा डढेलो लाग्दा १ हजार ३ सय ३१ हेक्टर जंगल सखाप भएको छ । तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाइएको हुन सक्ने तिनाउ सबडिभिजनका सहायक वन अधिकृत रामध्यान साहले बताए । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानले बताए ।
खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए । चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागेको उनको भनाइ छ । ‘जंगली जनावर, चराचुरुंगी तथा वननजिकका बस्तीहरूमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।
डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन । तिनाउ गाउँपालिकाअन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय र्याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छन् । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।
पहाडी र तराई भेगका वन उपभोक्तालाई सचेत गराउँदै डढेलोबाट रोक्न यस्तो प्रतिबद्धता गराइएको तिनाउ गाउँपालिकास्तरीय सामुदायिक वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । उता सिन्धुलीका धेरैजसो वनमा डढेलो लागेको छ । सालिन्दा लाग्ने डढेलो नियन्त्रणमा उपभोक्ताले चासो दिन छाडेका छन् ।
सिन्धुलीमाडीको खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा लागेको डढेलोले रातको समयमा सदरमुकाम क्षेत्र नै उज्यालो बनाउने गरेको छ । चार दिनदेखि लागेको डढेलो नियन्त्रण नहुँदा दिउँसो धूवाँको मुस्लो देखिने र डढेलो बस्तीमै आउलाजसरी आगो दनदनी बल्ने गरेको स्थानीय बताउँछन् । सदरमुकामको सबैजसो सामुदायिक वनमा साताअघिदेखि व्यापक डढेलो लागेको छ ।
सिन्धुली सदरमुकामको खाडीखोला सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : राजकुमार कार्की/कान्तिपुर
सदरमुकामको कमलामाई नगरपालिका–४ को च्याउकोट, कोप्चेखोला र खाडीखोला वडा ८ को कमलामाई, वडा ५ को सरस्वतीलगायत दर्जनौं सामुदायिक वनमा लागेको डढेलो निभेको छैन । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठ दुई दिनदेखि सदरमुकाम आसपासका सामुदायिक वनमा डढेलो व्यापक भएको बताउँछन् । डढेलोको धूवाँका कारण वायुमण्डल नै तुवाँलोले ढाकेको र मानिसलाई समेत आँखा पोल्ने जस्तो समस्या देखिन थालेको कमलामाई–६ रातमाटाका सन्तोष शर्माले सुनाए ।
वन्यजन्तुको बासस्थान प्रभावित
डिभिजन वन चन्द्रनिगाहपुरअन्तर्गत राष्ट्रिय वनभित्र लागेको डढेलो नियन्त्रणतिर रहे पनि वन्यजन्तु बासस्थलबाट विस्थापित भएका छन् । वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा डढेलोबाट जोगिएको वन क्षेत्रमा पुगेका छन् । डढेलोले हालसम्म उत्तरी चुरे, पश्चिमको सामुदायिक वन क्षेत्र मात्र जोगिएका छन् । रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ४ हजारभन्दा बढीमा डढेलो लागेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यस्तो अवस्थामा चोरी सिकारी र वन्यजन्तुलाई सकस पर्ने सहायक वन अधिकृत साहले बताए । राष्ट्रिय वन क्षेत्रभित्र धेरै स्थानमा घोल छ । पानी पिउन र त्यसको वरपर वन्यजन्तुले बासस्थान बनाउँछन् । अहिले आगोको रापले सबै उजाड बनेको छ । फायरम्यान पठाइए पनि नियन्त्रणमा आएको छैन । यहाँको राष्ट्रिय वनमा पाटेबाघ, भालु, हरिण, मृग, जरायो, घोडघोदा, बँदेल, सर्प र निकुञ्जबाट आउने गैंडा, हात्तीलगायत वन्यजन्तु छन् । उनीहरूलाई अहिले बासस्थानको खाँचो भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । आगोले साना झाडी र सुकेका पात डढ्दा टाढासम्म वन्यजन्तुको गतिविधि देखिन्छ । यो समय वन्यजन्तुका लागि निकै पीडादायी हुने गरेको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले बताए । ‘डढेलोले वन्यजन्तुको बासस्थान बिथोलिएको छ । सुरक्षा खोज्दै चुरे क्षेत्र जान थालेका छन्,’ उनले भने, ‘यस्तो बेला उनीहरूलाई जोगाउन लाग्नुपर्छ ।’ जाडोको समय रूखको पात सुकेर झर्छ । सुक्खा मौसममा यही पातमा पशुचरणको क्रममा गोठाला र सिकारीले आगो लगाउँछन् । यसबाट जोगिन वन्यजन्तु राजमार्ग वारपार गर्छन् । तराईको चारकोसे झाडी वन्यजन्तुको बासस्थानका रूपमा परिचित छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्र ।
-साथमा शिव पुरी (रौतहट), शंकर आचार्य (पर्सा), माधव अर्याल (पाल्पा) र राजकुमार कार्की (सिन्धुली)