इटहरी । सुनसरीको इटहरीमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंगलबार(आज) पत्रकार सम्मेलन गर्दै आयोजक जीपी फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईले यहि चैत १२ गतेदेखि इटहरी रंगशालामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका हुन् ।
प्रतियोगितामा इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाका टिमले सहभागी जनाउनेछन् । विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्ने राईले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगितामा स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत हुनेछ । कार्यक्रमलाई आर्कसक बनाउन सांगीतिक कार्यक्रम पनि आयोजना गर्न लागिएको उनले बताए ।
सुनसरी फुटबल संघका कोषाध्यक्ष कोबितजंग कार्कीले नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन उक्त प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्कीले फुटबल विकासको लागि जुन क्लबले प्रतियोगिता आयोजना गरेपनि सबै क्षेत्रबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
प्रतियोगिता चैत २४ गतेसम्म सन्चालन हुनेछ । आयोजकले आउने दर्शकलाई कुनै टिकट नराखेको पनि बताएको छ ।


















