रामधुनी । ‘चलचित्र पत्रकार संघ नेपाल’ले चलचित्र पत्रकारका लागि ‘कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ ।
मंगलबार २१ औं वार्षिक साधारण सभाको अवसरमा संघले ६० वर्ष नाघेका चलचित्र पत्रकारलाई मासिक ६ हजार रुपयाँ भत्ता दिइने जानकारी गराएको हो ।
संघका अध्यक्ष दिनेश सिटौलाले ६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार रूपैयाँ सुरक्षा भत्ता दिने योजना अनुसार कोष घोषणा गरेको बताएका छन् । आगामी जेठ ७ गते स्थापना दिवसको अवसरमा कल्याणकारी कोषको औपचारिक रूपमा सुरु गर्दै थप जानकारी दिने तयारी भइरहेका उनले बताए ।
साधारण सभा कार्यक्रका प्रमुख अथिति सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा र चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले संयुक्त रुपमा कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका हुन्।
कोषबाट मासिक सुरक्षा भत्ता दिनुका साथै समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने उद्देश्यले कोषको स्थापना गरेको महा सचिव समिर बालामीले जानकारी दिए । चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोषको खाता संचालनमा ल्याइसकेको र कोषमा ४ लाख जम्मा भईसकेको बलामीले बताए ।
संघले जेठ ७ गते सम्म कल्याणकारी कोषका लागि अभियान चलाउने र कोषमा न्यूनतम १० लाखदेखि २० लाख पुर्याउने लक्ष्य राखेको छ। ‘कल्याणकारी कोष’ संचालनका लागि कार्यविधि पनि तयार भइसकेको अध्यक्ष दिनेश सिटौलाले बताए। वृद्ध अवस्थामा चलचित्र पत्रकारलाई केही सहज होस् भन्ने उद्देश्यले कोष सञ्चालनमा ल्याइएको अध्यक्ष सिटौलाले बताए ।