इटहरी । सुनसरीको दुहवी नगरपालिका स्थित फुड प्लाजामा संघर्षका कथा सुनिएको छ ।
शनिबार साँझ प्रेस युनियन सुनसरीका सभापति तथा नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष पवन अधिकारीले आफ्ना संघर्षका कथा सुनाएका हुन् ।
अ स्टोरी अफ योङहर्टका प्रबन्ध निर्देशक सुजन घिमिरेका अनुसार मासिक रुपमा गरिदैँ आएको उक्त कार्यक्रममा प्रत्येक महिना एकजना सफल व्यक्तिले आफ्नो संघर्षका कथा सुनाउनेछन् ।
उनका अनुसार अघिल्लो महिना चर्चित गायक प्रमोद खरेलले इटहरीमा आफ्ना संघर्षका कथा सुनाएका थिए । उनले भने, ‘यस कार्यक्रममा प्रत्येक महिना एक सफल व्यक्तिले आफ्ना संघर्षका कथा सुनाउनेछन्, जसले गर्दा नव आगन्तुक युवाहरुका लागि उत्प्रेरणा हुनेछ ।’
करीब दुई वर्ष अगाडिदेखि सुरु भएको उक्त कार्यक्रम लकडाउनका कारण बीचमा बन्द भएपनि अघिल्लो महिना गायक खरेल आएसँगै आगामी दिनमा कार्यक्रमले निरन्तरता पाउने घिमिरेले बताए ।
शनिबार आफ्ना संघर्षका कथा सुनाउँदै पवन अधिकारीले करीब १७ वर्ष अगाडि आँफू पत्रिका वितरण गरेर आएको सम्झदैँ भने, ‘कुनै पनि काम गर्दा निरन्तरता, धैर्यता र नैतिकता हुनुपर्छ, निरन्तरता र धैर्यता भएमा मानिस सफल हुन्छ भन्ने मेरो बुझाई छ ।’ उनले कामप्रति लगाव भएमा युवाहरुले समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने तर्क गरे ।
उक्त कार्यक्रमकी प्रमुख अतिथि दुहवी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल शाहले लागि उत्प्रेरित हुने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताइन् । कार्यक्रममा गढी गाउँपालिकाका लेखा अधिकृत दिल बहादुर खड्का, प्रेस युनियन दुहवीका संयोजक आशिष यादव, फुड प्लाजा दुहवीका सञ्चालक इश्वर अग्रवाल लगायको उपस्थित रहेको थियो ।