रामधुनी । प्रदेश नम्बर एकको मुटुको रुपमा परिचित सुनसरीको इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न इपी ल्यान्ड एण्ड वाटर पार्क पार्क सञ्चालनमा आएको छ ।इटहरी २ को प्रसिद्ध पिकनिक स्पट तालतलैयाको छेउमै ६ बिघा क्षेत्रफलमा ३० करोडको लगानीमा इपी ल्यान्ड एण्ड वाटर पार्क सञ्चालनमा आएको हो। गत फागुन १७ गते सस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले उद्घाटन गरेसँगै पार्क सञ्चालनमा अएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले राम्रो उदेश्यका साथ समाजलाई अग्रणी बनाउन निर्माण भएको इपी ल्यान्ड एण्ड वाटर पार्कले यस क्षेत्रमा सकारात्मक सन्देश दिने बताए ।‘पूर्वान्चल पर्यटनको गतिमा अग्रगतिमा दौडनुपर्ने भएपनि पर्यटनको काम भएको छैन,’ उनले भने, ‘न हाम्रो क्षेत्रमा पर्यटनको विकास भयो, न ठूला होटलहरु नै स्थापना गर्न सकियो ।’ उनले प्रदेश १ मा पर्यटनको सम्भाव्यता धेरै भएपनि पर्यटकीय क्षेत्रमा विकासका काम आरम्भ नभएको तर्क गरे ।
‘यहाँ समय र सम्भाव्यता भएपनि विकासको आरम्भ भएको पाईदैँन तर इटहरी जस्तो ठाउँमा यो फनपार्ककको स्थापना हुनु सुखद् हो,’ मन्त्री ढकालले भने, ‘भविष्यमा अरुलाई पनि काम गर्न उत्प्रेरित गर्ने र यसलाई निरन्तरता दिनु आवश्यक छ ।’
उनले पर्यटनको क्षेत्रमा लगानी गर्न सरकार तयार रहेकाले पर्यटनको अवलोकन गर्न आवश्यक रहेको बताए । निजी क्षेत्रलाई सरकारले नीतिगत सुझाव दिदैँ यस क्षेत्रको विकासमा आफूहरु गम्भीर रहेको उनको भनाई थियो ।
पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डीआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटरपार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी निर्माण भएको पार्क कोरोना कहरका कारण एक वर्षपछी सञ्चालनमा आएको हो ।
‘हामीले गत वर्षको चैत महिनामै सबै काम सकेका थियौं, पार्कका सञ्चालक तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले भने , ‘तर लामो लकडाउन र कोभिड कहरका कारण पार्क सञ्चालनमा ल्याउन सकिएन।’ उनका अनुसार पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड ८ वटा राखिएका छन्। एक स्लाइडमा एक पटकमा बढीमा ८ जनाले खेल्न सक्नेछन्। दिनभरिमा ५ हजारले मनोरञ्जन लिन सक्नेछन्।
पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ। यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ। त्यस्तै जुरासिक पार्क यहाँको अर्को सुन्दर विशेषता हो। यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ।पार्कभित्र ४ वटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। एउटा बार्बिक्यु र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै फास्टफुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लरको समेत व्यवस्था रहेको छ। पार्कमा जिपलाइन टावर बनाइएको छ। त्यस्तै पार्कमा रक क्लाइम्बिङ ९चट्टानमा चढ्ने० स्थान पनि निर्माण गरिएको छ।