तेह्थुम । मेन्छयायेम गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ ।
मंगलबार गाउँपालिकाले वडा नं. ३ र ४ बाट शुरू गरेको गाउँपालिकाका अध्यक्ष एवं प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशन समिति संयोजक यादव बहादुर खापुङ्ले जानकारी दिए ।
अध्यक्ष खापुङ्ले रोजगार कार्यक्रमको उद्घाटन गर्दै आम नागरिकको संवैधानिक अधिकार भएको बताए । उनले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत बताएका थिए । अध्यक्ष खापुङ्ले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन गाउँपालिका योजनाबद्ध ढङ्गले अगाडि बढेको जानकारी दिए ।मंगलबाट सुभारम्भ भएको कार्यक्रम अन्तर्गत फागुन १२ गते (आज) मेन्छयायेम गाउँपालिकाको १ र २ नं. वडा कार्यालय र फागुन १३ गते मेन्छयायेम गाउँपालिकाको ५ र ६ वडा कार्यालयमा सुभारम्भ हुने मेन्छयायेम गाउँपालिकाका रोजगार संयोजक देबेन्द्र बस्नेतले जानकारी दिए ।
रोजगार कार्यक्रम अन्तरगत मेन्छयायेम गाउँपालिकाका १ देखि ४ नं. वडा कार्यालयसम्म २६/२६ जनाको दरले र ५ र ६ वडा कार्यालयमा क्रमशस् ३४ र ४० गरी १ सय ७८ जनाले एक सय दिनसम्म रोजगारी पाउने संयोजक बस्नेतले जानकारी दिए ।रोजगारीका लागि गाउँपालिकामा ५ सय १७ जनाले आवेदन दिएको उनले बताए । उद्घाटन समारोहमा बाेल्दै संयोजक बस्नेतले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह समेत गरेका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ का लागि पनि रोजगारीमा संलग्न हुने सूचीकृतका लागि फारम भर्न सबैलाई आग्रह गरेका छन् ।
यसैबीच मेन्छयायेम गाउँपालिकास्थित प्रहरी चौकी इन्चार्ज कूलप्रसाद पाण्डेले स्थानीय सरकारमार्फत सुभारम्भ भएको प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय स्तरमा रोजगारीको माध्यम रहेको उल्लेख गर्दै लागू औषध तथा मदिराजन्य निषेध गरी कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।त्यस्तै मेन्छयायेम गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत रहेको निर्देशन समितिका सदस्य विनयकुमार लिम्बू र मेन्छयायेम गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लिलाकुमार लिम्बूले इमान्दारीपूर्वक काम गर्न सबैलाई निर्देशन दिएका थिए ।
मेन्छयायेम गाउँपालिका ४ नं. वडाध्यक्ष लिलाकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रम मेन्छयायेम गाउँपालिकाका अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष यादबहादुर बहादुर खापुङ्को प्रमुख आतिथ्यतामा, मेन्छयायेम गाउँपालिका ३ नं. वडाध्यक्ष विनयकुमार लिम्बूको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
मेन्छयायेम गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देबेन्द्र बस्नेतले रोजगार कार्यक्रमको औचित्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन मेन्छयायेम गाउँपालिका वडा नं. ४ का कर्मचारी मातृकाप्रसाद दाहालले सञ्चालन गरेका थिए । यसैबीच कार्यक्रमको प्रभावकारिता, नियमित अनुगमन तथा सहयोगका लागि राजकुमार लिम्बूसमेत चयन भएका छन् ।
सरकारले २०७५ सालमा पाँच वर्षमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको हो । बेरोजगारलाई स्वदेशमै सम्मानजनक रोजगारी दिने र यदि दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउनका लागि यो कार्यक्रम शुरू गरेको हो ।