इटहरी । आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
यसैबिच ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल वान र एन्टेना फाउण्डेशन नेपालको आयोजनामा १० औं विश्व रेडियो दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै वानका अध्यक्ष चन्द्र न्यौपानेले विपदका बेला रेडियोले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरेका छन् ।