निर्वाचन सामग्री खरिद टेण्डर आह्वान गर्ने आयोगको तयारी

काठमाण्डौ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहे सँगै निर्वाचन आयोगले चुनावका लागी आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ ।

आयोगको आज बुधबार टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो । यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ । वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here