इटहरी । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि तीनदिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ ।
सो प्रणालीका कारण देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार सो प्रणाली पूर्व सर्ने क्रममा प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।
साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने जनाइएको छ ।