झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । जस अन्तर्गत ८६ जना गाडी चालकको कान र आँखा परीक्षण गरिएको छ ।
सोमवार इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल बिर्तामोडको संयुक्त आयोजनामा बिर्तामोड नगरपालिकामा रहेको हनुमान कम्प्लेक्स अगाडि ३५ जनाले रक्तदान र ८६ जनागाडी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।
जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।उनका अनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई गाडी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए ।