धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा मानिसहरु सहरबाट गाउँतर्फ बसाइँ सर्न थालेका छन् । बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि मानिसहरु गाउँमा कृषि गर्न बसाइँ सर्न थालेका हुन् ।
गत आर्थिक वर्ष २०७६/०७७ बाट गाउँपालिकाले बसाइँ सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको थियो । त्यो कार्यक्रम सञ्चालनमा आएपछि गएको वर्ष धनकुटाका तीन नगरपालिका छाडेर आधा दर्जनभन्दा बढी परिवार छथर जोरपाटी बसाइँ सरेरका छन् ।
गत वर्ष धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट नौ घरपरिवार बसाइँ सरेर छथर जोरपाटी गएको गाउँपालिकाका पशुपक्षी विकास शाखा अधिकृत राजकुमार राईले बताए ।
यसै आर्थिक वर्षको पुस महिनाभित्र गाउँपालिकाले आह्वान गरेको सार्वजनिक सूचनापछि चार परिवारले बसाइँ सरेर आउन आवेदन दिएको शाखा अधिकृत राईले जानकारी बताए ।गत माघ १५ गतेसम्म समय सीमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट दुई परिवार, महालक्ष्मी नगरपालिकाबाट एक परिवार र सङ्खुवासभाको मादी नगरपालिकाबाट एक परिवारले बसाइँ सरेर आउनका लागि आवेदन दिएका छन् ।
गाउँपालिकाले रितपूर्वक बसाइँ सरि आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार रुपैयाँ अनुदान दिने गरेको पशुपक्षी विकास शाखा अधिकृत राजकुमार राईले जानकारी दिए ।