काठमाण्डौ । सातवटै प्रदेशका भण्डारणमा आज कोरोनाविरुद्धको खोप पुर्याउने तयारी भएको छ ।
त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिए । खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उनले बताए।
पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ । भने अहिलेसम्म पनि खोप लगाउन सुरु गर्ने मिति भने टुङ्गो लागेको छैन ।
कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने छ । डाक्टर गौतमकाअनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । गत बिहीबार भारतले नेपाललाई १० लाख डोज खोप हस्तान्तरण गरेको थियो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।