इटहरी । सरकारले यही माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने तयारी थालेको छ । जसका लागि सरकारले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको लागि सरल र सहज होस् भन्नका लागि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरूलाई जिम्मेवारीसहित संयोजक तोकेको हो । जसमा प्रदेश एकमा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेल रहेका छन् ।

यसैगरी प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई र गण्डकी प्रदेशमा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.जागेश्वर गौतम रहेका छन् ।

लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेललाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ ।

मन्त्रालयका अनुसार संयोजकहरूले प्रदेशमा खोप लिएर जाने र प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्नेछन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here