मोरङ । निर्वाचन कार्यालय मोरङले निर्वाचनको तयारी तीव्र बनाएको छ । १७ बुँदे कार्यक्रम सार्वजनिक गर्दै कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको हो । सरकारले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यवधि निर्वाचनको घोषणा गरेको छ ।
उक्त निर्वाचनलाई लक्षित गर्दै कार्यालयले मोरङका १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी समेत तोकिसकेको छ । निर्वाचनसम्बन्धी सरकारको घोषणा बमोजिम विराटनगरस्थित निर्वाचन कार्यालयले माघ १५ मा कार्यक्रमको सूचना तथा मतदाता नामवली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।
तर, जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको छ । नेता पारुल क्षेत्रीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र राजनीतिक दलहरु पुनर्स्थापनाको पक्षमा भएको अवस्थामा निर्वाचनको तयारी थाल्नु अनुचित रहेकाले कार्यक्रम बहिष्कार गरेको बताए ।