इटहरी । प्रदेश १ को आज बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो ।
नेकपा प्रचण्ड माधव समूहले प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ । यस्तै, ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको छ ।
प्रचण्ड माधव समुहको हिजो बसेको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षीदलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने निर्णयसमेत भएको नेता इन्द्रबहादुर आङ्बोले बताए । आफ्ना सांसदलाई अवरोध गर्न खोजिए संगठित रुपमा प्रतिवाद गर्ने यो समुहले दावि गरेको छ ।
ओली समूहले पनि प्रचण्ड माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद बैठकमै प्रवेश गर्न नदिने निर्णय गरेको छ । हिजोसंसदीय दलको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको ओली समूहले अनौपचारिक छलफल गरेको थियो । यो समुहको दलको बैठक आज विहान बस्दै छ ।
यसैगरी प्रदेश १ मा सत्ता समिकरणमा निर्णायक देखिएको भनिएको नेपाली काँग्रेस संसदीय दलको वैठक भने, हिजो विना निष्कर्ष सम्पन्न भएको छ । अविश्वासको प्रस्ताव संसदमा टेवुल भएपछि मात्र निर्णय लिइने गरि वैठक स्थगीत भएको नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
प्रदेश १ को सातौ हिउँदे अधिवेशन आज दिउसो दुई वजे देखि सुरु हुँदैछ । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो हुने भएकाले यो अधिवेशनलाई चासोपूर्वक हेरिएको छ ।
यसैबिच प्रदेशसभा सचिवालयले प्रदेशसभा वैठकको तयारी पूरा भएको जनाएको छ । बैठकमा प्रदेशसभा सचिलायलले सांसद बस्ने कुर्सीलाई उचाल्न नमिल्ने गरी ब्यवस्था मिलाइएको छ ।