रामधुनी । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार सबै पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेसको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज सात सय ५३ वटै पालिकामा प्रदर्शन गरेको हो । कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ । शनिबारको प्रर्दशनमा शिर्षनेताहरुले पूर्वमा विभिन्न ठाँउमा संवोधन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरंगको विराटनगर र रंगेली नगरको सभाले सम्वोधन गरे ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेर संविधान र नेपाली जनतालाई न्याय दिनुपर्ने तर्फ उनले जोड दिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अराजनीतिक कदमलाई प्रतिनिधि सभाको पुनःस्थापनाले मात्र सच्याउन सक्ने धारणा प्रकट गरे ।
सुनसरीको इटहरी, इनरुवा, रामधुनी, धरान, मोरंगको सुन्दरहरैंचा नगरपालिका, झापाको दमक, खोटाङको हलेसी, जन्तेढुंगा लगाएत पूर्वका सबै स्थानीय तहहरुमा कांग्रेसले प्रर्दशन गरेको हो । प्रर्दशनमा नेताहरुले प्रतिनिधिसभाको बिघटन अलोकतान्त्रीक भएको बताउदै कांग्रेस लोकतन्त्र राक्षाका लागि लडिरहने बताएका छन् ।
यसैगरी प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी(जसपा)ले आज ६ जिल्लामा एक साथ विरोधका कार्यक्रम गरेको छ । सुनसरी, सर्लाही, सिरहा, बारा, कपिलवस्तु र रौतहटमा कार्यक्रम गरेको हो ।