काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले प्रदेश १ का नेता कार्यकर्ताहरुको सहभागीतामा आज काठमाडौंमा कार्यकर्ता भेला गरेको छ ।
प्रदेश १ सम्पर्क कमिटीले काठमाडौंको तिनकुने स्थित रोयल पार्टी प्यालेसमा भेलाको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टीभित्रैको ‘कपटपूर्ण तमासा’ले व्यवधान सृजना गराएको बताएका छन् ।
ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहीनता बढ्दै गएको उल्लेख गरे । प्रचण्ड माधव समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न उनले सुझाव समेत दिएका छन् ।
उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरेका छन् । ओली खेमाका प्रदेश १ का इन्चार्ज सुवासचन्द्र नेम्वाङले सरकार काम चलाउन नभएको दाबी गरेका छन् ।
’सरकारले अहिले सबै काम गर्न पाउछ । यो कामचलाउ सरकार होइन’ उनले भने, ’निर्वाचन आयोगले आचारसंहिता घोषण गरेपछि केही रोकिन सक्छ । तर, अहिले सरकारले सबै काम गर्न सक्छ।’ उनले सरकारले तोकेको मिती बैशाख १७ र २७ गते हुने दाबी समेत गरेका छन् ।