रामधुनी । फोटोग्राफरको सामग्री चोरी गरेको आरोपमा झापाका दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई रहेका छन् ।
चोरी गर्ने अनुपले पोखरा महानगरपालिका–२० मलाम घर भई योर डिजिटल फोटो स्टुडियोका सञ्चालक विमल कार्कीलाई फोनमार्फत विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि भन्दै पुष २४ गते इ–सेवामार्फत चार हजार रुपैयाँ पेश्की पठाएपछि विमल त्यसको भोलिपल्टै पोखराबाट आएर मोरङको बूढीगङ्गा–१ स्थित आरएन होटल एण्ड लजमा बसेका थिए ।
अनुपले होटलको कोठामा फोटोग्राफी सम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाइ खाना खाने बहानामा इटहरीमा रहेको प्राइम होटलमा लगी विमललाई त्यही छाडी बूढीगङ्गाको होटलबाट फोटोग्राफी सम्बन्धी सबै सामाग्री चोरी गरी फरार रहेका थिए । उजुरी परेपछि अनुपलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलीले उनकै घरबाट बिहीबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले अनुपका सहयोगी सारांश भट्टराईलाई समेत पक्राउ गरेको छ । साथै उनीहरूबाट क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान र लाइट १ थान बरामद गरेको छ ।