रामधुनी । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा प्रणालीमा नै त्रुटी भएको निष्कर्ष निकालेको छ ।
त्रुटिपूर्ण परीक्षाका कारण लिखित परीक्षा उत्तिर्ण गरेका ७५ प्रतिशत परीक्षार्थी प्रयोगात्मकमा फेल हुने गरेको विभागले जनाएको छ ।
जसका कारण लाइसेन्सको क्षेत्रमा बिचौलियाको बिगबिगी बढेको विभागले जनाएको छ । जसको अन्त्यका लागि सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा प्रणाली परिवर्तन गर्ने विभागले तयारी गरेको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा आम नागरिकको सहज सहभागिता बढाउन र यो क्षेत्रमा देखिएका विकृतीलाई हटाउन भन्दै सरकारले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने भएको छ ।
सेवाग्राहीले नियमानुसार नै परीक्षा दिएर सवारी साधन अनुमति पत्र लिन सकुन र नियम बिपरित बिचौलियाबाट लाइसेन्स लिने प्रवृती रोकियोस भनेर सरकारले सवारी चालक अनुमतिपत्रको मापदण्ड परिवर्तन गर्ने तयारी गरेको यातायत ब्यवस्था बिभागले जनाएको छ ।
तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए । अहिलेको मापदण्डअनुसार सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा २५ प्रतिशत मात्र पास हुने गरेका छन् ।
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा फेल हुनेको सङ्ख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै विभागले मापदण्ड परिवर्तनको काम गरिरहेको भुसालले बताए ।
अहिले सवारी चालक अनुमति पत्रका लिखित परीक्षामा उत्तिर्ण भएका ७५ प्रतिशत परीक्षार्थी प्रयोगात्मक परीक्षामा असफल हुने गरेका छन् ।
प्रयोगात्मक परीक्षामा राखेका हरेक प्यारामिटर पार गरेपछि मात्र अहिले सवारी चालक अनुमति पत्र लिन सकिन्छ । विभागले परिवर्तन गर्न लागेको मापदण्डमा प्रयोगात्मक परीक्षालाई सहज बनाउने जनाएको छ ।
परिवर्तन गरिएको मापदण्ड अनुसार प्रयोगात्मक परीक्षामा पनि हरेक प्यारामिटरको नम्बरिङ गर्ने र सबै नम्बर जोडदा ६० नम्बर आयो भने पास हुने ब्यवस्था गर्न लागिएको उनले बताए ।
आउन लागेको नयाँ मापदण्डले लाइसेन्समा बढदो बिचौलिया प्रवृत्ति भने कम हुने विभागले जनाएको छ । परिवर्तन गरिएको मापदण्डलाई आउँदो फागुनबाट कार्यानवयनमा ल्याउने विभागले जनाएको छ ।