इटहरी । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले मातहतका कार्यालयलाई सरकारी पैसाबाट चिया नखान परिपत्र गरेको छ । कोरोना महामारीलाई कारण बताउँदै मन्त्रालयले खर्च कटौती गर्न, अतिथि सत्कार र चियापान शीर्षकमा छुट्याएको बजेट खर्च नगर्न परिपत्र गरेको हो ।
महामारीका कारण आन्तरिक राजस्व सङ्कलन र राजस्व बाँडफाँड न्यून हुने भएकाले खर्च कटौती गर्ने नीति लिइएको प्रदेश सरकारको भनाइ छ । पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार वित्तीय अनुशासन कायम हुन नसकेका कारण प्रदेश १ को वित्तीय अवस्था सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।
केही समयअघि पत्रकार सम्मेलन गरी आंङवोले वित्तीय असन्तुलनको दोष मुख्यमन्त्री शेरधन राईलाई दिएका थिए । महामारीका कारण राजस्व बाँडफाँड र सङ्कलन न्यून भएको तथा महामारी नियन्त्रणका लागि सरकारले खर्च व्यवस्थापन गर्नुपर्ने भएकाले विभिन्न शीर्षकको बजेट खर्च नगर्न मन्त्रालयले गत कात्तिक २ गते मातहतका कार्यालयलाई परिपत्र गरेको थियो ।
मन्त्रालयले आर्थिक भार पर्नेगरी कार्यालयको संरचना र थप कर्मचारीको दायित्व सिर्जना नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयले बहुवर्षीय आयोजनाका लागि स्रोतको सुनिश्चितता नगर्ने नयाँ आयोजनाको प्रक्रिया अघि नबढाउन पनि भनेको छ ।