रामधुनी । धनकुटाको हिले स्थित आर्मी क्याम्पमा कार्यरत नेपाली सेनाका हवलदार मेजर परशुराम भट्टराई गत जेठ ५ गते गम्भीर घाइते भई जेठ १२ गते उपचारका क्रममा मृत्यु भएको भनिएता पनि आफन्तले निष्पक्ष छानबिन गर्न नेपाली आर्मीको पूर्वी पृतना मुख्यालय इटहरीमा प्रदर्शन गरेका छन् ।
उनीहरूले सैनिक प्रशासन सँग बसेर कुराकानी गर्ने भने पनि नेपाल प्रहरीले जान रोक लगाएपछि करिब ४ घण्टा इटहरी धरान सडक खण्डमा यातायात अवरोध गरेर प्रदर्शन गरेका हुन् ।
धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा मृतककी श्रीमती बेहोस समेत भएकी थिइन् । उनको गत वैशाखमा सवारी दुर्घटनामा परी हात र खुट्टा भाँचिएको थियो । उक्त भाँचिएको स्थानमा स्टिल लगाइएको छ । प्रहरीले बल प्रयोग गरेपछि उनी बेहोस भएकी थिइन् । हाल उनलाई एम्बुलेन्समा अस्पताल लगिएको छ ।
सुनसरीको रामधुनी नगरपालिका ३ घर भएका भट्टराईको रहस्यमय मृत्यु भएको र अस्पतालको भेन्टिलेटरमा राखेपछि मात्रै जेठ ६ गते परिवारले खबर पाएको भन्दै उक्त घटनामा आर्मीका केही ठुला बडाले नै ढाकछोप गरेको भन्दै परिवार आन्दोलित बनेका छन् ।
उनीहरूले आर्मी दमन मुर्दावाद, उच्च स्तरीय समिति गठन गर, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीलाई कारबाही गर जस्ता प्ले कार्ड बोकेर मुख्यालय अगाडी धर्ना दिएका थिए ।मृतककी श्रीमती कमला भट्टराईले आफ्नो श्रीमान्को टाउकाको दोब्रेपट्टि कन्चटनजिक गम्भीर चोट लागी भित्रपट्टि हड्डी फुटेजस्तो चोट, दुवै आँखामा नीलडाम शरीरका विभिन्न भागमा चोट रहेको तथा छोरालाई तड्पाई तड्पाई मारेको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकि छिन् ।
परिवारले घटनामा संलग्न १४ जनामाथि किटानी जाहेरी दिएपनि हाल सम्म छानबिनको लागि कुनै प्रक्रिया अगाडी नबढाएको मृतककी श्रीमती कमला भट्टराईले बताईन् । आफ्नो श्रीमान्को मृत्यु भएको ७ महिना वितिसक्दा पनि हत्यारा अहिले सम्म पत्ता नलगाएको भन्दै अहिले आन्दोलनमा आउन बाध्य भएको उनले बताईन् । यति लामो समय हुँदा पनि सम्बन्धित घटनाको कुनै प्रक्रिया नै अगाडी नबढाएको भन्दै आफन्त आक्रोशित बनेका छन् ।परिवारले तत्कालीन धनकुटा २ नम्बर बाहिनीका बाहिनी पति यमप्रसाद ढकाल, मेजर राजकुमार बस्नेत, पुर्व सुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्की जमदार अकलबहादुर घलेमगर, हुद्दा शेरबहादुर लिम्बु, हुद्दा गणेश श्रेष्ठ, हुद्दा अमरबहादुर देउजा अमल्दार योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेशनायक लिला विक, सैनिक जवान आर्मस्टङग कबिरथ र सैनिक दुर्गा बहादुर तामाङमाथि तत्काल छानबिन गर्न माग गरेका छन् । मृतक भट्टराईका ८६ वर्षीय बुवा, ३३ वर्षीय श्रीमति सहित ७ वर्षीय छोरी र ५ वर्षे छोरा रहेका छन् ।यता पूर्वी पृतना मुख्यालय इटहरीले भने मुख्य हेडक्वाटर सो घटनाको विवरण लिएर अनुसन्धान थालेको जनाएको छ ।