काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका हुन् ।
पूर्व राष्ट्रपति डा यादवले प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ लैजाने बताए । अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा कुरामा विश्वस्त रहन समेत उनले आग्रह गरे ।
डा यादवले विपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा मेलमिलापको नीति लिएर आएकोे स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताउनुभयो । भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको समेत बताए ।