रामधुनी । भैरहवास्थित निर्माणको अन्तिम अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा भएको हो । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । एडीबीले उपलब्ध गराउने उक्त ऋण उक्त विमानस्थलको दोस्रो चरणको विस्तारको डिजाइन र टर्मिनल भवन निर्माणमा उपयोग हुने सम्झौता छ । त्यस्तै ट्याक्सी वे विस्तार, एप्रोन निर्माणका लागिसमेत ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ ।
एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।
सम्झौतापछि मन्त्रालयका सहसचिव नेपालले यस्ता आयोजनाको कार्यान्वयनले नेपालको हवाई क्षमता बढाउने र बाढी सुरक्षाको पूर्वाधार निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने बताए ।