काठमाडौं । उखु किसानको प्रदर्शन आज पनि जारी छ । चिनी उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् ।
गत आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका हुन् । छातीमा प्लेकार्ड झुण्ड्याएका किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ ।
आन्दोलनरत उखु किसानले आफूहरुको आन्दोलनको दुई बुँदे बटमलाइन अघि सारेका छन् । सरकारले वार्तामा बोलाई पठाएको पत्रको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् ।
श्रीराम सुगर मिलले रकम पठायो
किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराउनुभयो ।
किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलिदेखि नै किसानको खातामा पठाउन थाल्ने अग्रवालको भनाई छ । श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताउनुभयो ।