सुनसरी । मकुना हात्तीको अवस्था बारे निर्क्योल गर्न चितवनबाट आएको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा काम थालेको छ । पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा हिजो बिहानैबाट मकुना हात्ती उपर निगरानी सुरु गरेको छ ।
कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा.अमिर सडौला सहित वन्यजन्तु प्राविधिक तिर्थ लामा र एम्बुलेन्स चालक सुरेन्द्र तामाङ रहेका छन् । सो टोलीले आरक्षको कार्यालय सँगको समन्वयमा जंगली हात्ती मकुना रहेको स्थान पहिचान गरी निगरानी थालेको छ ।
पहिलो चरणमा जंगली हात्ती मकुनाको हाउभाउ बुझ्ने काम थालिएको छ । हात्तीले वितण्डा मच्चाउनुको पछाडीका सम्भावित कारणहरु प्राविधिकले यकिन गरेपछि अन्य प्रकृया अघि बढ्ने सडौलाले जानकारी दिनुभयो । मकुनाले जनधनको क्षति पुर्याउँदै आएको विषयलाई स्थानीयले हात्तीको मनस्थिति बिग्रिएको हुन सक्ने आशंका गर्दै हात्ती मार्नु पर्ने माग गरिरहेका छन् ।
प्राविधिक टोलीले भने जंगली जनावर स्वभाविक रुपमा हिस्रक हुने भएकाले यसै हो भन्नु पूर्व उसको स्वभावमा आउने परिवर्तन पछाडीका कारण जान्नु महत्वपूर्ण हुने बताएको छ ।
टोलीसँगै रहेका आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले प्राविधिक टोलीले हात्तीको अवस्था र स्वभाव पत्ता लगाएपछि त्यसमा आएको परिवर्तनको कारण खोजेर चिकित्सकले आवश्यक्ता अनुसारको उपचार गर्ने जानकारी दिए ।