काठमाडौं । उखुको वास्तविक मोल पाउनुपर्ने भन्दै आइतबारदेखि सुरु भएको आन्दोलन आज पनि निरन्तर छ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको माग गर्दै सर्लाहीका उखु किसानले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।
माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनीमिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएपछि विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । आज आन्दोलनको समर्थनमा विवेकशील साझा पार्टी र नेपाली लोक दोहोरी क्षेत्रका कलाकारहरुको उपस्थिति छ ।
किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरिरहेका छन् ।