लेटाङ्ग । टमाटरमा रोग लागेर खेतीनै सखाप भएपछि मोरङको लेटाङ, जाँतेका किसान चिन्तित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको व्लक कार्यक्रम अन्तरगत टमाटर खेति गरेका अधिकांश किसानको टमाटर बालीमा रोग लागेपछि लगानी नउठ्ने भन्दै कृषकहरु चिन्तित भएका हुन् ।
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ र ९ जाँतेका प्राय सबै किसानका बारीमा यतिबेला टमाटर खेति लगाइएको छ । प्रधानमन्त्री कृषि आधिुनिकीकरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत यस क्षेत्रमा टमाटरको व्लक कार्यक्रम सञ्चालन भएपछि कृषकहरुले १ सय ५० विगाहामा टमाटर खेति गरेका छन् । उत्तरी मोरङ कृषि महिला सहकारी संस्थामार्फत संगठित भएका कृषकहरुले व्लक कार्यक्रममार्फत ५० प्रतिशत अनुदान पाएका छन् ।
ब्लक कार्यक्रम मार्फत उपलब्ध गराइएको सृजना जातको टमाटर सबै किसानले लगाएका छन् । तर अधिकांश किसानको बारीमा लगाएको टमाटार रोगका कारण फस्टाउन सकेको छैन । कसैको त बारी नै पुरै सखाप भएको छ । गतवर्ष टमाटर खेतिबाट निकै राम्रो आम्दानी लिन सफल भएका किसानले यसवर्ष पनि सोही अनुसारको आम्दानी हुने आश गरेका थिए ।
तर थाहा नपाएको रोगका कारण लगानी उठाउन समेत समस्या भएको कृषक माधव अधिकारीको गुनासो छ । रोगका कारण बारी नै सखाप भएपछि कृषकहरुले बारीमा सिमी तथा काउली लगायतका तरकारी लगाउन थालेका छन् । लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठ रोगको उपचार सुरु गरेको बताउँछन् ।
लेटाङमा प्रधानमन्त्री कृषि आधिुनिकीकरण परियोजनाअन्तरगत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाको समन्वयमा टमाटरको व्लक कार्यक्रम सञ्चालित छ । जसमा ४० लाख बजेट खर्च हुनेमा कृषकहरुले ५० प्रतिशत अनुदान पाएका छन् ।