रामधुनी । प्रदेश १ का बिभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ ।
मोरङको ग्रामथान गाउँपालिका १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सह चालक बुढिगंगा गाउपालिका १ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका ९ मा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर १५ की ६० बर्षीया मनकामना झाको ज्यान गएको हो ।
यस्तै झापाको दमक नगरपालिका ४ तारावारीमा मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा घाइते बनेका उनको पनि ज्यान गएको छ ।
यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका ५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम आँउदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका ९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका ११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयहरुलाई उदृत गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।