इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल विधिबाट संस्थाको १९ औं वाार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साढे १२ हजार शेयर सदस्य रहेको सहकारीले शनिबार आफ्नो १९ औं साधारणसभा सिमित सदस्यहरुको उपस्थितीमा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अथिती तथा नेकपा नेता भीम आचार्यले सहकारीहरुले उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् । संस्थाको वार्षिक साधारणसभामा बोल्दै नेता आचार्यले उत्पादनमार्फत् रोजगार र आर्थिक समृद्धिलाई जोड दिनुपर्ने बताए । त्यसको लागि तालिम, विकासमा पनि ध्यान दिन संस्था सञ्चालक समितिलाई आग्रह समेत गरेका छन् ।
सहकारीहरु अनुशासित हुनुपर्नेमा जोड दिँदै आचार्यले राष्ट्रिय अर्थतन्त्रको मुख्य खम्बा भएकोले सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारीहरु नै अग्रसर हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले नेपालको राजनीति तथा अर्थतन्त्र अझै पनि संकटकालमा रहेको बताउँदै नयाँ उपायहरुको प्रयोग गर्दै अघि बढ्न संस्थालाई आग्रह गरका छन् ।
संस्थाले कोरोना भाइसरका कारण गत मंशिर २ गतेदेखी सप्ताहव्यापी तालिका बनाएर सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । साधारणसभाको अवसरमा सहकारीले विगतका उपलब्धीहरुको समिक्षा गर्दै विभिन्न योजनाहरु प्रस्तुत गरेको थियो ।
अन्तर्राष्ट्रिय एक्सेस ब्राण्डको सिल्भर मेडल प्राप्त सहकारीले ७ वटा सेवा केन्द्रमार्फत् सेवा दिइरहेको छ । सुरुवातमा ३४ जना सदस्यहरुबाट एक हजार सात सय रुपैया उठाएर स्थापना गरिएको सहकारीको अहिले हजारौं सदस्यहरु छन् भने ७२ करोड बढीको सम्पत्ती रहेको अध्यक्ष शालिकराम ढकालले साधारणसभामा जानकारी दिए ।
कार्यक्रममा सचिव थिरबहादुर खड्काले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाको सांगठानिक स्वरुप, कार्यप्रगति, विनियम संशोधनलगायतका विविध पक्षको बारेमा जानकारी दिएका थिए ।


















