काठमाडौं । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरूले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरूले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका थिए । मुस्लिम आयोगमा पुगेका सदस्यहरूले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताउनुभयो । अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरूको व्यवस्थापनमा करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरूले लगाएका छन् ।

हाजीहरू बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरूको भनाइ छ । हज यात्रामा जानेहरूबाट अध्यक्ष मियाँले प्रतिदिन १२ रियल बढी रकम लिएको आरोपसमेत समितिका सदस्यहरूले लगाएका छन् ।

हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोपसमेत समितिका सदस्यहरूले लगाएका छन् । उनीहरूले अध्यक्ष मियाँलाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here