पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पाँचथरको फालेलुङ गाउँपालिका–४ मा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट उद्घाटन गरेका छन् ।
सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील रहेको उनले सो अबसरमा बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले सिमित स्रोत साधनको बाबजुद धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सवल बनाउन, छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताएका थिए ।मन्त्री नेम्बाङ्गले बीओपी सहित सुरक्षा निकायलाई प्रविधि र पूर्वाधारयुक्त बनाई सवल बनाउने उल्लेख गरे ।
त्यस्तै नेम्बाङ्गले बुधबार याङवरक गाउँपालिका स्थित थर्पूमा स्वास्थ्यचौकी, फालेलुङ गाउँपालिका ५ स्थित प्राङबुङ्गका विद्यालयमा आइसीटी ल्याब तथा स्वास्थ्यचौकी र लुङरुपामा विद्युतिकरणको उद्घाटन गरेका छन् । उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवा प्रवाह एवम नागरिकको समस्याहरुको विषयमा स्थानीयसंग छलफल समेत गरेका थिए ।