आज भाईटीका, सम्पूर्ण जानकारीका लागि पढ्नुहोस् !

Photo: The Rising Nepal

रामधुनी । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकको पाँचौ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाउने चलन छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम रहेको समितिले जनाएको छ ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु पर्ने छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । यस वर्ष मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथि नै रहेकाले नेवार समुदायका केही समूहले भाइटीका भोली लगाउँदै छन् ।

तिथिको घटबढका कारण यस वर्ष गोवर्द्धन पूजा पनि भाइटीकाका दिन आजै परेको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा गर्ने चलन छ । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

यस वर्ष कोरोना महामारी समेत फैलिएकाले स्वास्थ्य सुरक्षाको विधि अपनाएर तीहार मनाउन धर्मशास्त्रविद्ले आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here