इटहरी । यो बर्षको अन्त्य सम्ममा कोरोना(कोभिड १९) भाइरस विरुद्धको भ्याक्सिन बनिसक्ने विज्ञहरुले बताएका छन । कोभिड १९ महामारीको सन्दर्भमा उठेका अहम् नीतिगत सवालहरुमा केन्द्रित भएर युनेस्कोको बायो–इथिक्स नेपाल एकाईले गरेको अन्तर्राष्ट्रिय सेमिनार (वेभिनार)मा विज्ञहरुले त्यस्तो वताएका हुन ।
सय भन्दा वढि भ्याक्सिनको परीक्षण भइरहेको र धेरै जसो मान्छेमा परीक्षणको चरणमा रहेको सेमिनारमा जानकारी दिइयो । युनेस्कोको बायो–इथिक्स नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल सेमिनारको भारतका प्रा.डा. ओपि काल्राले उद्घाटन गरे ।
कार्यक्रममा युनेस्कोको बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रस्सेल डिसुजा, भारतीय शिक्षा विभागका प्रमुख प्रा.डा. वेदप्रकाश मिश्र, युनेस्कोको पाठ्यक्रमका प्रमुख प्रा.डा. प्रिन्सि पालेटी वक्ता थिए । नेपाल एकाईका सदस्य सचिव प्रा. समि लामाबाट सञ्चालित कार्यक्रममा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डिन प्रा.डा. शिवेन्द्र झाले प्रतिष्ठानका तर्फबाट शुभकामना मन्तब्य राखे ।
सो सेमिनारमा प्रा.डा. रस्सेल डिसुजाले कोभिड महामारीले मनोस्वास्थ्यमा पारेका असरहरु, प्रा.डा. वेदप्रकाश मिश्रले कोभिड महामारीको परिप्रेक्ष्यमा स्वास्थ्य विज्ञानको पाठ्यक्रममा देखिएको परिमार्जनको आवश्यकता र प्रा.डा. प्रिन्सि पालेटीले कोभिड बिरुद्धको भ्याक्सिनको बिकास तथा बितरणमा देखिएका नैतिक सवालहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोभिड महामारीमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मिहरुमा विश्वभरिनै नीतिगत दुबिधा, आघात सहित मनोसामाजिक समस्याहरु देखिएको वताइएको छ । त्यसको न्यूनिकरणका लागि होसियारी अपनाउनुपर्ने तरिकाहरुका वारेमा जानकारी दिइएको छ । ३५ वढि देशका चारसय बढी सहभागिहरु सेमिनारमा भाग लिएका थिए ।
कार्यक्रमका संयोजक रहेका नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यले यस सेमिनारले कोभिडको महामारीको परिप्रेक्ष्यमा उब्जेका मूल मुद्धाहरुमा रहेका अन्यौल चिर्न र अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्न सघाउने विश्वास ब्यक्त गरे ।
विश्वभरि नै सञ्जाल रहेको युनेस्कोको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।