रामधुनी । नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले दशैं भत्ता जनप्रतिनिधिलाई वितरण गर्ने र लिनेलाई दुबैलाई कारवाही गर्न माग गरेको छ । जनप्रतिनिधि जनउत्तरदायी हुनुपर्ने र जनभावनाको कदर गर्दै जनता संकट परेको बेला गम्भीरतासाथ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न कांग्रेसको आग्रह छ ।
कांग्रेसको संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले विज्ञप्ति जारी गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने बताए । भत्तासम्बन्धी कुनै ऐन वा कानुन नै नभएकोले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले माग गरे ।
संघीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाइको बलमा जनतामाथि क्रुर शासन गर्ने मनसाय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनता महामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले बताए ।