रामधुनी । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका – १२ बस्ने ३८ वर्षीय नरेश मेचे रहेका छन् ।
जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका – २९, गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो ।
झापा बिर्तामोड नगरपालिका(६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरुले हातहतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो । अपहरणमुक्त गर्ने क्रममा १ जना प्रहरी कर्मचारी घाइते समेत भएको उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।
पक्राउ गरे लगत्तै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।