रामधुनी । लामो समयको प्रतिक्षापछि बक्लौरीबासिले खानेपानी पाउने भएका छन् । सुनसरीको रामधुनी ६ स्थित बक्लौरीमा निर्माण सुरु भएको कठघरा–पञ्चायन फास्ट ट्राक खानेपानी तथा सरसफाई आयोजनाको कामले तिब्रता पाए संगै बर्षौं देखिको बक्लौरीबासीको खानेपानीको समस्या हट्ने भएको हो ।
कोसान नामक संस्थाले करिव १० बर्ष अघि यो ठाँउका स्थानीयहरुबाट धारा जडानका लागि भन्दै पैसा समेत उठाएर काम अलपत्र छाडेपछि यहाँका नागरिकको खानेपानी आउने आसा मरेको थियो । अहिले पुनः खानेपानी मन्त्रालयले बजेट निकासा गरेर खानेपानीका लागि काम तिब्र गतिमा बढेसंगै स्थानीयको आश पलाएको छ ।
पछिल्लो समय रामधुनीको जनक कन्ट्रक्सनले बोरीङको ठेक्का लिएर एउटा बोरिङ गाडिसकेको छ । भने, साढे ४ कठ्ठा जग्गामा घेराबारा तथा नदि कटान रोक्ने कामको ९० प्रतिसत काम सम्पन्न भएको रेखदेख गर्न गठित उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थिङ तामाङले जानकारी दिए ।
यही गतिमा काम अडाडि बढे काम चाँडै सकिने समितिका सचिव प्रेमकुमार श्रेष्ठले बताए । ‘तीन महिनामा यो काम सम्पन्न भएको हो । यो महामारी तथा केन्द्रबाट बजेट प्राप्त भए चाँडै नै काम सम्पन्न हुन्छ । प्रत्येक बर्ष बजेट निकासा हुनेगरि काम भइरहेको छ । आगामी तीन बर्षमा जनताले पानी पाउँदछन् ।’
यति काम सम्पन्न हुन १ करोड खर्च भएको छ । यस आयोजनाबाट रामधुनी ६ र ७ का दुई हजार घरधुरी लाभान्वित हुने नेकपाका नेता नन्दु बस्नेतले जानकारी दिए । ‘हामी नागरिकका समस्याका लागि हर पल लागिरेका छौं ।’ उनले भने ।
खानेपानीमा राजनीतिकरण भयो
खानेपानीको आयोजना सुरु हुँदा केही राजनीतिक दलले स्थानीयलाई उकासेर विरोध गर्न लगाए । नदिको छेउमा भन्दै यसले पछि नदिको दिशा परिवर्तन हुन्छ र विनाश गर्छ भन्दै धेरै मानिस विरोधमा लागेका थिए । तर अहिले खानेपानीको काम तिब्र गतिमा अघि बढेको भन्दै स्थानीय पनि खुसी रहेको बस्नेतको भनाई छ ।