काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय खारेज गरेको छ ।
यसअघि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।
अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । अव सार्वजनिक सवारीमा सिटभरी यात्रु राखेर सञ्चलन गर्न पाईने छ ।
दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । त्यस्तै सरकारले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन सबैमा आग्रह गरेको छ ।