बराहक्षेत्र । आगामी पौष १ गतेदेखि ४ गतेसम्म हुन गइरहेको नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनमा बराहक्षेत्र नगरपालिकामा रहेको चक्रघट्टी जेसीजको तर्फबाट बर्ष २०२० का शाखा अध्यक्ष जेसी सन्तोष चौलागाईंले उम्मेदवारी दिएका छन् ।
चक्रघट्टी जेसीजले वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवारको रूपमा अध्यक्ष चौलागाईंलाई सर्वसम्मत निर्णय गरि पठाइएको साथै नेपाल जेसीजको सचिवालयमा उम्मेदवारी दर्ता समेत भइसकेको महासचिव जेसी सञ्जय राउतले जानकारी दिए ।
विधिको शासन, बन्धुत्वको भावना र मानवताको सेवालाई सर्वोपरि ठान्दै स्थानीय शाखाको रूपमा सप्तकोसीको काखमा रहेर वराहक्षेत्र नगरपालिकाको सक्रिय संस्थाको रूपमा चक्रघट्टी जेसीजले युवाहरूमा नेतृत्व विकास तथा समाजप्रति उत्तरदायित्व वहन गर्दै निरन्तर कार्य गर्दै आइरहेको चौलागाईं बताउँछन् ।
सन् २०१३ बाट स्थापना भएको चक्रघट्टी जेसीजका युवाहरू आजसम्म नेपाल जेसीजको नेतृत्व तहमा पुग्न सकेका छैनन् । चक्रघट्टी जेसीजका कार्यकारी उपाध्यक्ष तीर्थराज भट्टराईले भने तसर्थ हामीले यसपटक जेसीजमा उज्जवल भबिष्य बोकेका भोलिको नेपाल जेसीजको नेतृत्व गर्न सक्ने क्षमतावान तथा उर्जाशील युवालाई सशक्त रूपमा अगाडि बढाएका छौं।
संस्थापक उपाध्यक्षबाट आफ्नो जेसीज यात्रा सुरू गरेका चौलागाईं बराहक्षेत्र नगरपालिकाकै कुशल र उदायमान युवाका रूपमा परिचित छन् । युवाहरूको माझमा मात्रै नभएर बुढापाका तथा केटाकेटीहरू सबैको नजरमा उनी प्रिय छन् ।
सबैसँग मिल्न सक्ने, आफूभन्दा अग्रजलाई सम्मान, आफु समानसंग सहकार्य तथा आफुभन्दा सानालाई मार्गदर्शन गर्ने क्षमता भएका हाम्रा अध्यक्ष पक्का पनि नेपाल जेसीजको उपाध्यक्षमा योग्य पात्र रहेको निश्कर्ष सहित हामीले उम्मेदवारको रूपममा पठाउने निर्णय गरेका हौं । अर्का कार्यकारी उपाध्यक्ष लोमश दाहालले भने ।
कान्छो, क्षमतावान तथा योग्य उम्मेदवार एवम् ग्रामीण शाखाको प्रतिनिधित्व गर्ने उम्मेदवार भएका कारण पनि सम्पूर्ण जेसीज मनहरूले मन र मत दिएर बिजयी गराइदिनु हुनेछ भन्ने अपेक्षा सहित तपाईंहरूले सन्तोष चौलागाईंलाई चक्रघट्टीको उम्मेदवार नभई सम्पूर्ण नेपालभरीका जेसीजहरूको उम्मेदवारको रूपमा स्वीकार गरि बिजयी गराइदिनु हुन सादर अनुरोध गर्दछौँ । दाहालले विभिन्न शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीहरूलाई अनुरोध गर्दै भने ।
बर्ष २०२० का क्षेत्र (क) का सबैभन्दा कान्छा अध्यक्ष चौलागाईं यस पटकका राष्ट्रिय उपाध्यक्षका उम्मेदवारहरूमा पनि कान्छो उम्मेदवारहरू मध्ये रहेका छन् । शाखाको संस्थापक उपाध्यक्ष, सचिव, प्रकरण निर्देशक, महासचिव तथा कार्यकारी उपाध्यक्ष हुँदै कुशल अध्यक्षको छवि बनाइसकेका उनी लेखन, पत्रकारीता, साहित्य तथा प्राविधिक क्षेत्रमा बिशेष दखल राख्दछन् ।
आफु चक्रघट्टी जेसीजको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएकाले हिजोको जस्तै माया र आशिर्वाद दिई अत्याधिक बहुमतले आफुलाई बिजयी गराइदिन चौलागाईंले सबैलाई अनुरोध समेत गरेका छन् ।


















