एजेन्सी । चीनले चार दशकदेखि निर्यातमा निर्भर अर्थतन्त्रको स्वरुप बदल्ने भएको छ । राष्ट्रपति सी चिनफिङले अब घरेलु बजारलाई नै प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्रको स्वरुप कायम राख्न नयाँ रणनीति अघि सारेका हुन । नयाँ योजनालाई सी ले ’ड्युल सर्कुलेशन’ उपमा दिएका छन् ।
यो शब्द यतिखेर चीनको आधिकारिक विज्ञप्ति, भाषण र सरकारी मिडियाका सामग्रीको हिस्सा बनिसकेको छ । अर्थव्यवस्थामा चीनले अघि सारेको पछिल्लो मोडलबारे विस्तृतमा जानकारी आइनसकेको बीबीसीले उल्लेख गरेको छ ।
तर, घरेलू बजारलाई चलायमान बनाउँदै देशभित्रै उत्पादन, वितरण र खपत बढाउने यसका मूलभूत उद्धेश्य रहेको बुझिएको छ । साथै, विश्वभर व्यापार विस्तार गर्न पनि यो रणनीतिले सघाउने चीनले अपेक्षा गरेको छ ।