खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीनजना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना फुलसरी राई सो वडामै छैनन् ।
यति मात्र नभई सो वडामा मृत्यु भएपछि स्थानीय पञ्जिकाधिकारीको आधिकारिक हस्ताक्षरसहित मृत्यु दर्ता गराएका व्यक्तिको नाममासमेत अहिले पनि नियमितरुपमा सामाजिक सुरक्षा भत्ता बुझेको खुलासा भएको छ । लामो समयअघि मृत्यु भएका व्यक्तिको नाम र नागरिकता नम्बर प्रयोग गरेर अर्कै व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको समेत स्रोतले दावी गरेको छ ।
सो वडामा गत आर्थिक वर्षको प्रथम चौमासिकमा मृत्यु भइसकेका दर्जनभन्दा बढी व्यक्तिको नागरिकता नम्बर र जन्म मिति अर्को व्यक्तिको नाममा प्रयोग गरेर नियमित सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । भत्ता वितरणमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमातोमा यसअघि हुँदै आएको दुरुपयोग रोक्न गाउँपालिकाले अभियान सुरु गरेपछि यो विषय बाहिर आएको हो ।
दश स्थानीय तह रहेको खोटागमा कर्मचारीमार्फत् लाभग्राहीको घर–घरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सबैजसो ठाउँमा अनियमितता हुने गरेको पाइएको छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा लाखौँ रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको थियो ।